नुवाकोट/ नुवाकोट जिल्लाको अति विकट क्षेत्र ढाँडखर्कमा दुई वटा शक्ति शाली भूकम्पबाट बाँचेका गाउँलेलाई यतिखेर पहिरोले कतिखेर पुरिने हो भन्ने डरले निकै त्रसित पारेको छ । आफ्नो बस्ती अगाडि नै रहेका डाडाहरूबाट घरभन्दा ठूलठूला चट्टानहरु झरेर आएका र ठाउँठाउँमा डाडै पहिरो गएको दृष्यले उनीहरूलाई न रातमा निन्द्रा लाग्छ न त दिनमै ढुक्क भएर बस्न सकेका छन्।
आफूहरूमाथि परेको यो ठूलो जोखिमले गर्दा गाउँकै ७३ बर्षिय जंगबहादुर अधिकारी र ६२ बर्षिय टंकनाथ अधिकारी पनि निकै डराएका छन्। बाँच्ने आशा मारिसकेका उनीहरू आफ्नो ज्यान बचाइदिने गुहार माग्दै भने,‘पहिरोको उपाय केही लाग्छ की कसैले केही दिन्छन् की ?’
उसैत त्रसित गाउँलेलाई पहिलो ठूलो भूकम्पपछि उद्धारका लागि आएका सेना तथा प्रहरीले समेत यो पहिरो आयो भने बस्ती नै सखाप पार्छ भनिदिएपछि गाउँले झनै आत्तिएका छन्। ‘डाँडाबाट झरेको ढुंगा त उठ्ने रहेछ’ निकै डराएकी टिकादेवी अधिकारीले काम्दै गरेको स्वरमा भनिन् ‘ ढुंगा खस्दा बनेको खाल्डो त मान्छे भन्दा पनि ठूलो हुँदा रहेछ। यही खसेर मार्ला भनेर हामी त बाहिर बाहिरै बसिरहेका छौं।’ गर्भवति बुहारी आफ्नो सुरक्षाको लागि पाँच बर्षिय छोरालाई साथमै लिएर माइतै बसेकी छन् भने ५० नाघिसकेकी टिकादेवीसँग ९ र १० बर्षिया नातिनीहरू सँगै बसेका छन्। ढाँडखर्क प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्ने उनकी नातिनी शुषमा पानी पर्नलाई आकाश गड्याङगुडुङ गरेपछि निकै तर्सिन्छिन्। पहिरोबाट झरेको ढुंगाले किचेर मार्ला भनेर नातिनीले कपडाले मुख छोप्ने गरेको उनले बताइन्।
ढाँडखर्क गाविसका वडा नं ३ र ९ का बासिन्दा यतिखेर पहिरोका गोखिमका कारण बस्ती नै सखाप हुने हो की भन्ने डरमा रातदिन बिताइरहेका छन्। डाँडाको सल्लेघारीबाट घरजत्रा ढुंगाहरू खसेर घर पल्टाएको देखाउँदै मैयाँ अधिकारीले भनिन्,‘ मास्तिरबाट आएको पहिरोले हामीलाई त लैजान्छ क्या र , अब कसले बचाउने?’
अधिकाशं अधिकारी जातिका बस्ती रहेका यी दुई वडामा जम्मा ३९ वटा घरपरिवार रहेका छन्। यीमध्ये अधिकाशं घरहरू पूर्ण रूपमा भत्किएका छन् भने बचेकामा पनि बस्न नहुने गरी क्षति भएको छ। वैशाख १२ को भूकम्पका कारण वडा नं ३मा एक दलित परिवारमा दुई बालबालिकाको मृत्यु भएको छ भने वडा नं ९मा एउटा बाख्रा बाहेक अन्य कुनै मानविय क्षति भएको छैन। हालसम्म सरकारी राहत पनि आफुले नपाएको र पहिरो ब्यवस्थापनका लागि पनि सरकारले कुनै पहल नगरेको स्थानिय बासीको गुनासो छ ।
अन्नपूर्ण पोष्टमा बैशाख ३१, २०७२
No comments:
Post a Comment