Tuesday, June 23, 2015

पतिले डान्सबारमा जागिर दिन्छु भनेपछि

रामकला खड्का
काठमाडौं / बुटवलकी रोजी थापाको दोलखा घरभई कपन बस्ने भरत कुँवरसँग फेसबुकमार्फत भेट भयो। उनीहरूले एक आपसमा फोन नम्बर साटासाट गरे। भेटघाटको क्रम बढ्यो।  करिव एक वर्षको प्रेम पछि गत मंसिर २० गते उनीहरूको कपनस्थित डेरामै विवाह भयो। जीवनभर साथ दिन्छु भनेर विवाह गरेका पतिले एक महिना पछि नै आफूलाई कुटपीट गरी यातना दिनुको साथै दिनभरी कोठामा बन्द गरेर हिँड्न थालेपछि रोजीको पीडा असह्य हुन थाल्यो। घर झगडालाई बाहिर ल्याए सबैको बदनामी हुने डरले सँधै सहेर बसेकी रोजीलाई अन्तत पतिले एक जोर च्यातिएको कपडामै जेठ १० गते घरबाट निकालिदिए।

आफ्नो माइती सबै त्यागेर भरतसँग विवाह गरेकी रोजीलाई त्यतिबेला शरण दिने कोही भएन। उनकै छिमेकी सपना राईले आफ्नै घरमा लगेर राखिन् । तनाव र पीडाले बोल्न समेत नसक्ने रोजीलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड्मा लगेर सपनाले उपचार गराइन्। १२ कक्षासम्म पढेकी रोजीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएपछि अन्याय विरूद्ध लड्नुपर्छ भन्ने सोचका साथ महिला सेल कालिमाटिमा गएर आफ्ना पति विरूद्ध घरेलु हिंसा सम्बन्धि उजुरी दिइन्। 

सोल्टीमोडमा ए वान घुङ ग्रु डान्स बारका संचालन गर्दै आएका आफ्ना पति भरतले ‘तँ कुजातको’ भन्दै आफूलाई शाररीक तथा मानसिक तनाव दिने गरेको रोजीको आरोप छ। उनले भनिन्,‘ मेरो साइलो जेठाजुको ससुरालीले कपनमा घर बनाइदिएको छ, मलाई पनि कैयौं पटक घर बनाइदिनु भनेर माइतीलाई भन भन्दै दवाव दिनुभयो।’ राति २ बजेसम्म पति घर नआएपछि फोन गर्दा किन डिस्टर्ब गरिस भन्दै भोलिपल्ट आएर लात्तिले हान्ने, भूकम्पमा परेर मरिस भनिदिन्छु भन्दै पिट्ने र एसिड हालिदिन्छु भनेर पतिले धम्की दिने गरेको उनको भनाई छ। 

जीवन भनेर चिनिने आफ्नो पतिले महिला सेल कालिमाटीमा दुवैलाई भेटाएर छलफल गराएपछि पनि आफूलाई कति पटक फोन गरेर केस फिर्ता गर, बरू के कति हो हेरौंला भन्दै दबाब दिएको रोजीले बताइन्। प्रहरीकै अगाडि आफूलाई म साहु हुँ आदर गर, मेरोमा काम दिन्छु नाँच्न हिँड भनेको सुनाउँदै रोजीले भनिन्,‘पैसाको लागि मैले यो लडाई लडेको होइन, न्यायको लागि हो। तर मैले न्याय कहिले पाउँछु थाह छैन।’ रोजीले आफन्तबाट पाएको जानकारी अनुसार भरतको यस अगाडि पनि पार्वती भण्डारी र बिमला कार्कीसँग पारपाचुके भइसकेको छ। काठमाडौं जिल्ला अदालतबाट भएको भरतको पार्वतीसँगको पारपाचुकेको कागज रोजीको हात परेको छ। 

महिला सेलकी प्रहरी निरिक्षक पूर्णिमा चन्दका अनुसार हाल रोजीको मुद्धा घरेलु हिंसा ,कसुर तथा सजाय ऐन २०६६ अनुसारको पक्रियामा अगाडि बढाइएको छ। रोजीका पति भरतलाई बारम्बार फोन गर्दा पनि निज सम्पर्कमा आउन चाहेनन्। 

अन्नपूर्ण पोष्टमा प्रकाशित
प्रकाशित मिति असार ६, २०७२ 

No comments:

Post a Comment