Friday, June 26, 2015

मन परेपछि ‘आई लभ यु’ भनिहाल्नुपर्छ

राधा लम्साल 
लगभग २३ वर्ष पहिले टेलिचलचित्र ‘पर्खाल’बाट अभिनययात्रा आरम्भ गरेकी राधा लम्साल (भाबो)ले हालसम्म थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरिसकेकी छन्। सन्तोष पन्तको ‘हिजोआजका कुरा’बाट चर्चामा आएकी उनी हिजोआज ‘तीतो सत्य’मा खेल्ने गर्छिन्। ब्युटिसियन एवं अभिनेत्री भाबो बैंसमा कस्ती थिइन् त ? उनकै शब्दमा : 
चञ्चले स्वभाव 
म असाध्यै चञ्चले र चुलबुले स्वभावकी थिएँ। साथी बटुलेर घुम्न जाने गर्थें। घरमा एकैछिन बस्न मन नलाग्ने। फुर्सद भयो कि नाच्न थालिहाल्थेँ। 
चलचित्रमा सोख 
चलचित्रबाहेक त्यस बेला मनोरञ्जनका अन्य विक ल्प थिएन। विराटनगरमा चलचित्र चल्दा पहिलो दिन पहिलो सो हेर्नेको जत्ति इज्जत अरूको हुँदैनथ्यो। त्यसैले पहिलो सो हेर्नैपर्ने भन्ने हुन्थ्यो। बुवाको पैसा चोरेर साथी र बहिनीहरूका साथ चलचित्र हेर्न जान्थेँ। बुवा कडा स्वभावको। चलचित्र हेर्न जाने गरेको थाहा पाएपछि ल_ी लिएर हलबाहिर कुरेर बस्नुहुन्थ्यो। 
नायिकाको नक्कल 
चलचित्र हेरेर घर फर्किएपछि मुमताज, हेमा मालिनी, शर्मिला टेगोरलगायतका नायिकाको नक्कल गर्थें। उनीहरूको संवाद बोल्थेँ। अभिनय गर्थें। 
शृंगारमा रुचि 
लामो कपाल रिबनले बाट्ने, फुल सिउरने फेसन थियो। मलाई गाजल असाध्यै मन पर्ने। चस्मा र गाजलकै टीका लगाउँथेँ। फलामको छड तताएर तेलले पुछेर कपाल कर्ली बनाउँथेँ। छालाको असाध्यै स्याहार गर्ने। ओठमा दूधको तर लगाइरहन्थेँ। दाइलाई भनेर भ्यासलिन, बोरोलिन र ल्याक्मेको क्रिम मगाउँथेँ। 
राम्री देखिन हुरुक्कै 
राम्री भइन्छ भनेपछि म जे गर्न पनि तयार। खेतमा जाँदा सतार र थरुनीले माटोले नुहाएको देखेर म पनि कहिले माटो त कहिले पिना, रि_ा आदिले नुहाउँथेँ। कपाल राम्रो भएकाले काट्न मन लाग्दैनथ्यो। 
बिर्सने बानी 
बिर्सने बानी खराब थियो। धेरै चञ्चल भएर होला, छिनको छिनमा मान्छे बिर्सन्थेँ। बुवाआमाले अराएको काम भुलिहाल्ने। कतिसम्म भने घरमै पालेको गाई पनि नचिनेर धपाइदिन्थेँ। 
मन पराउने धेरै 
बच्चादेखि सँगै हुर्केको दाइको मिल्ने साथी मलाई असाध्यै मन पराउने। हामी लैला मज्नुजस्तै गरी हुर्केको। नजान्दानजान्दै माया बसेको थियो। तर, केटा डरपोक भएकाले आफ्नै आमालाई भन्न सकेनन्। अर्काले एकैचोटि मागेर लगे। त्यसैले मन परेपछि ‘आई लभ यु’ भनिहाल्नुपर्छ, ढिला गर्नु हुँदैन। विद्यालयमा बुवाले फी तिर्न ढिला गरे अर्को विद्यालयमा जान्छे भनेर फी तिरिदिने केटा पनि थिए। 
पहिलो प्रेमपत्र 
मेरो प्रेमी (हाल श्रीमान्) काठमाडौंको विजय मेमोरियल हाइस्कुलमा पढ्नुहुन्थ्यो। म विराटनगरको सरस्वती हाइस्कुलमा। एउटा प्रदर्शनीमा मलाई देखेर मन पराउनु भएछ। चिठी लेखेर मामाकी छोरीमार्फत पठाउनुभयो। ‘मेरो मुटुको धड्कन, गाजलु, तिमी मेरो सपनामा आउने, मेरो हुनेवाला जीवनसाथी...’ जस्ता मीठा कुरा लेख्नुभएको थियो। 
बैंस लागेको थाहा भएपछि 
उहाँको चिठीले मलाई मनमा काउकुती लगाइदियो। मैले पनि त्यत्तिकै मीठो गरी उत्तर पठाइदिएँ। ‘दिलमा हजुर आएपछि थाहा भयो, म पनि जवान भइसकेकी छु। पहिले म अहिलेजस्तो मुस्कुराउन, सर्माउन जान्दिन थिएँ तर हजुरको माया पाएर यी सब कुरा थाहा भयो...।’ 

प्रस्तुति : रामकला खड्का 

No comments:

Post a Comment