Thursday, June 25, 2015

नवजात शिशुको ज्यानजोखिममा


काठमाडौं/ नेपालमा आएका दुई शक्तिशाली भूकम्पबाट प्रभावित जिल्लाहरूमा प्रत्येक घण्टा १२ वटा नवजात शिशुहरूको आधारभूत स्वास्थ्य उपचार सेवा बिनानै जन्म हुने गरेको युनिसेफले जनाएको छ। यी क्षेत्रहरूमा आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध नगराइए आगामी महिनासम्ममा करिव १८ हजार शिशु र आमाहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी संस्थाले दिएको छ। 

भूकम्पबाट अति प्रभावित नेपालका १४ वटा जिल्लाहरूमध्ये केहीमा ९० प्रतिसत र अधिकाशंमा ७० प्रतिशत प्रसुति केन्द्रहरू पूर्ण रूपमा क्षति भएका छन्। हजारौं सुत्केरी आमाहरू घरबार बिहीन भएका कारणले उनीहरूले आफ्ना नवजात शिशुहरूसँग सुरक्षित स्थानमा बस्न समेत पाइरहेका छैनन्। त्यसैगरी थुप्रै गर्भवति महिलाले पनि सुरक्षित प्रसुति सेवाको लागि चाहिने स्वास्थ्य उपचार सेवाहरू पाउन सकेका छैनन्।

भूकम्पबाट अति प्रभावित क्षेत्रहरूका अस्पताल र प्रसुती केन्द्रहरू बाहिर शिशु जन्माउने आमाहरूको संख्या एक तिहाईले बढेको बताउँदै युनिसेफका नेपालस्थित प्रतिनिधी तोमु होजुमीले भने,‘शिशुका लागि जीवनको शुरूवाती दिनहरू भनेका निकै जोखिमपूर्ण रहने हुनाले नवजात शिशु र आमाको स्वास्थ्यप्रति हामी सचेत छौं।’ 

नेपालले मातृशिशु मृत्यु दर घटाउनको लागि केही सुधारात्मक कामहरू गरे तापनि भूकम्प आउनु अगाडि पनि अझै आमा र नवजात शिशुले गुणस्तरिय स्वास्थ्य उपचार सुविधा नपाउने गरेका संस्थाले जनाएको छ । संस्थाका अनुसार प्रत्येक दिन सामान्य रोगबाट पनि ३८ जना नवजात शिशुको ज्यान जाने गरेको छ भने प्रत्येक आठ घण्टामा सुत्केरी अवस्थामा हुने जटिलताका कारण एक महिलाले ज्यान गुमाउने गरेकी छन्। 
प्रकाशित : जेठ २, 2072


No comments:

Post a Comment