Sunday, August 23, 2015

मुलुक चिनाउने रकस्टार


रामकला खड्का
गीतसंगीतको क्षेत्रमा लागेका भाइबहिनीका लागि अमन प्रधान कुनै नौलो नाम होइन । काठमाडौंमै जन्मेहुर्केका अमन बालुवाटारस्थित मेरिडियन इन्टरनेसनल स्कुलका कक्षा ९ का छात्र हुन् । गत वर्ष आफ्नो दोस्रो एल्बम ‘मन’बाट इमेज अवार्ड जितेका यी साना गायकले हालै कलाको ओलम्पिकको रूपमा मानिने टर्किस ओलम्पियाड अर्थात् इन्टरनेसनल फेस्टिबल अफ ल्याङवेज एन्ड कल्चरमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।

मेरिडियन इन्टरनेसनल स्कुलमा भएको एक सांगीतिक प्रतियोगितामा अमनले गाएका एक टर्किस गीतले उनलाई पहिलो चरणको विजेता बनायो । उनले गाइरहेको भिडियो सुट गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पठाइयो । विगतमा टर्किस ल्याङवेज ओलम्पियाडको रूपमा चिनिने यस प्रतियोगितालाई विश्वव्यापी बनाउँदै विगत दुई वर्षयता इन्टरनेसनल फेस्टिभल अफ ल्याङवेज एन्ड कल्चर बनाइएको हो । अमनको जादुमय स्वर र सुन्दर प्रस्तुतिका कारण उनी विश्वका एक सय ५० वटा देशका सहभागीमध्येमा उत्कृष्ट १४ मा पर्न सफल भए । अजरबैजान, अमेरिका, युक्रेन, रोमानिया, इन्डोनेसिया, थाइल्यान्डलगायतका १४ देशका सहभागीमध्ये नेपालको तर्फबाट अमन पहिलोपटक उक्त महोत्सवमा पुगेका हुन् । उक्त अन्तर्राष्ट्रिय महोत्सवको पहिलो कार्यक्रमअन्तर्गत अमन करिब तीन महिना अगाडि इन्डोनेसिया गए । त्यहाँ उनले गाएका ‘राम्रो पनि’ बोलका गीतका धेरैले मन पराएका थिए । त्यसपछि उनी फर्केर नेपाल आए । महोत्सवको मुख्य कार्यक्रमअन्र्तगत टर्किस भाषामा गीत गाउनुपर्ने हुनाले यहाँ आएर अमनले भाषा सिके । यसको दुई सातापछि महोत्सवमा भाग लिन उनी फेरि रोमानिया पुगे । त्यहाँ अन्य १३ मुलुकका सहभागीका साथ कार्यक्रम सकाएर उनी जर्मनी गए । जर्मनीको डटमनमा यस महोत्सवअन्र्तगतको सबैभन्दा ठूलो कार्यक्रम थियो । करिब २० हजारभन्दा बढी दर्शकले खचाखच स्टेडियममा अमनले ‘हाई दि बसलासन’ बोलको टर्किस गीत गाउँदा धेरैले आफ्नो स्वर र प्रस्तुतिलाई मन पराएको अमनले बताए । उनीसँगै महोत्सवमा सहभागी अन्य १३ मुलुकका सबै सहभागीले उक्त स्टेडियममा गाउने अवसर पाएनन् । आफूलगायत जम्मा पाँचजना मात्रै छनोटमा परेको बताउँदै उनले भने, ‘त्यहाँ उपस्थित दर्शको भीडले ममा झन् आत्मविश्वास बढेकोले मैले राम्रो प्रस्तुति दिन सकेँ ।’यस कार्यक्रमको समापन समारोह बेल्जियमको राजधानी ब्रसेल्समा भएकाले उनीहरू जर्मनीबाट ब्रसेल्सतर्फ लागे । सहभागीमध्ये १० जनालाई त्यहाँका एक उपमन्त्रीले ब्रेकफास्टको निम्तो गरेकाले ब्रेकफास्टपछि उनीहरू समापन समारोहमा गए । त्यहाँ उनले जर्मनीमै गाएको गीत गाएका थिए । कार्यक्रम सकिएपछि त्यहाँका प्रधानमन्त्रीले सहभागीहरूलाई भेटेर उनीहरूको प्रस्तुतिको प्रशंसा गरेका अमनले बताए । अमनले पनि आफूलाई त्यति ठूलो र शक्तिशाली राष्ट्रका प्रधानमन्त्रीले व्यक्तिगत रूपमै भेटेर ‘तिम्रो प्रस्तुति राम्रो लाग्यो’ भन्दै फोटो खिचाएको क्षण पत्याउनै गाह्रो परेको छ ।
महोत्सवमा सहभागिता जनाउनको लागि अमनले इन्डोनेसिया, रोमानिया, जर्मनी र बेल्जियम गरी चारवटा देशका लागि अवसर पाएका थिए । यी देशहरूमा कार्यक्रम सकिएपछि आयोजकले सहभागीलाई टर्कीको इस्तानबुल र बुर्सा पनि घुमाएका थिए । निकै व्यवस्थित र विकसित ती सहरहरू घुम्दा आफूलाई निकै रमाइलो लाग्नुको साथै नेपालका सहरहरू पनि कहिले यस्ता होलान् भन्ने सोच आएको उनले बताए । आठ कक्षाको परीक्षा सकिएपछिको अवधिमा उनले विभिन्न मुलुकमा गरी करिब एक महिना बिताए । विभिन्न मुलुकका १९ वर्षमुनिका ती सहभागीसँग उनको निकै गहिरो मित्रता पनि गाँसियो । योभन्दा पनि राम्रो कुरा उनले त्यहाँ पुगी आफ्नो प्रस्तुति र बानीव्यवहारमार्फत नेपाल र नेपालीलाई चिनाउने काम गरे । उक्त अवधिमा थाइल्यान्डको रिकार्डो उनीसँग असाध्यै मिल्ने साथी बने भने अमेरिकाको म्यारिसन पनि प्रायः उनीसँगै हुन्थे । होटेलमा बस्दा एउटै कोठामा दुईजना बस्नुपर्ने भएकाले उनको रुम पार्टनर प्याराग्वेका थिए । उनले स्पेनी भाषा बोल्ने र अमनले त्यो नबुझ्ने भएकाले उनीहरू एकअर्कामा मोबाइल भाषा अनुवाद गरेर कुराकानी गर्ने गर्थे । यस महोत्सवमा भाग लिने अवसरले उनले थुप्रै देश त घुमे नै त्योभन्दा पनि ठूलो कुरा विभिन्न देशका गीतसंगीतबारे धेरै कुरा सिके । साथै यसले स्टेज प्रस्तुतिमा आफ्नो आत्मविश्वासलाई पनि बढाएको अमनको भनाइ छ ।
 

नजिकबाट अमन

अमनले चार वर्षको उमेरमा फुच्चे चाउचाउको विज्ञापनका लागि जिंगल गाएका थिए । त्यो नै उनको पहिलो रेकर्डिङ हो । आफ्ना बाबु राहुल प्रधानकै प्रेरणाले गीतसंगीतको क्षेत्रमा लागेका अमनले नौ वर्षको उमेरमा आफ्ना बाबुलाई एउटा गीत बनाइदिन अनुरोध गरे । उनका बाबुले पनि आफ्नो छोराको रुचिलाई साथ दिँदै ‘मेरो नेपाल’ बोलको गीत बनाइदिए । उक्त देशभक्तिपूर्ण गीतलाई सबैले मन पराएपछि उनको बाबुकै संगीतमा उनको पहिलो एल्बम ‘अमन द रकस्टार’ श्रोतामाझ आयो । उनले विस्तारै स्टेज पर्ममेन्स पनि दिन थाले । पहिले आफ्नै विद्यालयको अभिभावक दिवसमा गाएका अमनले विस्तारै अन्य विभिन्न ठाउँमा ठूला कन्सर्टमा पनि गाउन थाले । यसै क्रममा उनको दोस्रो एल्बम ‘मन’ पनि रिलिज भयो । उक्त एल्बममा नेपाल बन्दका कारण विद्यार्थीमाथि धेरै असर परेको विषयमा वरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीले लेखेका ‘नेपाल बन्दको बन्दी’ शीर्षकको गीत पनि रहेको छ । हाल आफ्नो तेस्रो एल्बम ‘माया’को तयारीमा रहेका अमनले विगत आठ महिनादेखि शास्त्रीय संगीत पनि सिक्दैछन् । उनी गितार राम्रो बजाउँछन्, किबोर्ड सिक्दैछन् भने हार्मोनियम संगीत कक्षामा बजाउँछन् । आफ्नो तेस्रो एल्बमको म्युजिक भिडियोको छायांकनमा व्यस्त अमनका साथमा यस भिडियोमा मोडेल माया खानले अभिनय गरेकी छन् । करिब डेढ महिनाभित्रै आफ्नो एकल साँझ गर्ने तयारीमा उनी छन् । गणित विषय गाह्रो र अंग्रेजी सजिलो लाग्ने अमन पढाइमा पनि अब्बल विद्यार्थीमै पर्छन् । उनी आफू कक्षा यूकेजी पढ्दादेखि नै आफ्ना बाबुसँग घरमा पनि अंग्रेजी बोल्ने अभ्यासले आज उनी निकै राम्रो अंग्रेजी बोल्छन् । आफ्नी आमा विजेता श्रेष्ठले पनि पढाइको साथै संगीतमा लाग्न ठूलो साथ दिएको उनले बताए । सानैदेखि जस्टिन बेबर, टेलर स्विफ्टलगायतका गायकगायिकाको गीत सुन्ने अमन भविष्यमा एक अन्तर्राष्ट्रिय स्तरको गायक र संगीतकार बन्न चाहन्छन् ।

के भन्छन् अमनका बाबु ?

अमनले अन्तर्राष्ट्रिय रूपमा देशलाई चिनाउने जुन प्रयास ग¥यो त्यसको लागि म आफूलाई भाग्यशाली सम्झन्छु । उनले भविष्यमा पनि नेपाली संगीतमै लाग्छु भनेकाले उच्च शिक्षा पनि यसैमा गर्ने इच्छा देखाएको छ । पहिले उसलाई गर भन्नुपथ्र्यो । तर अहिले स्वस्र्फुत रूपमा आफैं लागिपरेको छ । उसको संगीतप्रतिको यही लगावले भविष्यमा उसलाई धेरै अवसर जुट्ने मैले आशा गरेको छु ।
राहुल प्रधान, संगीतकार  

अन्नपूर्ण पोष्टमा भदौ ६ गते प्रकाशित 

No comments:

Post a Comment