मानव बेचबिखन अभियोगमा दुई युवकविरूद्ध मुद्धा
रामकला खड्का
काठमाडौं/ निजगढ बाराकी सुनमाया तामाङलाई सिन्दुपाल्चोक महांकालका कुमार तामाङले भारत लगेर राम्रो काम लगाइदिन्छु र दुई वर्ष पछि उनीसँगै विवाह गर्छु भन्ने प्रलोभन देखाए। काठमाडौंको दक्षिणढोकास्थित सुरेन्द्र कार्पेटमा विगत एक वर्षदेखि गलैंचा बुन्ने काम गर्दै आएकी सुनमायाले कुमारको लोभमा परेर आफ्नी बहिनीसहित भारत जान तयार भइन्। यही क्रममा माइती नेपालले प्रहरीको सहयोगमा उनीहरूलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर काठमाडौं पठाइदियो। कुमारमाथि नेपालगन्जमै मानव बेचबिखनको मुद्धा चलाइएको छ।
आफूहरूसँगै काम गर्नेमा अन्य साना केटा साथीहरू पनि रहेको र प्रहरी आएपछि ती केटाहरू र अन्य साना दुई केटी साथीहरू पनि भोगेका रितु तामाङले बताइन्। गलैंचा बुन्ने क्रममा त्यसको सानो बुट्टा पनि विग्रेमा त्यही गलैंचा ठोक्ने घनले नै हातमा बेस्सरी हान्ने गरेको उनले गुनासो गरिन्। शुरूमा आउँदा उनीसँगै उनका बाबु, बहिनी र काकाको छोरी पनि आएका थिए। तर बाबुले सबैले काम गरेर प्रति महिना चार हजारको दरले आउने ज्याललाई एकमुष्ट जम्मा गरेर ६० हजार लिई घर गएको र आफूहरूलाई काममै छाडिदिएको उनले बताइन्।
१३ बर्षिया गोमा तामाङले काम गर्न गाह्रो मानेकै कारण साउनीले आफ्नो आँखामा खुर्सानी छरिदिएको र जिउमा सिस्नो पानी लगाएको अझै विर्सेकी छैनन्। सानै उमेरमा निकै सजिएर बस्ने गरेकी गोमाले लजाउँदै भनिन्,‘सानोमा मैले काम राम्रो गरिन रे भनेर मलाई सिस्नोले पिट्थे, कहिलेकाहीं आँखामा खुर्सानी छ्यापिदिन्थे।’
बालिका सबै विहान तीन बजे नै उठ्छन्। चार बजेदेखि त उनीहरूले गलैंचा बुन्न थालिहाल्नुपथ्र्यो। न चिया न कुनै खाजा काम थालिहाल्ने बालिकालाई विहान १० बजे र बेलुकी १० बजे दुई छाक भात बाहेक दिनभरी केही खान दिइदैनथियो। जस्ताले बारेको सानो ठाउँमा बसेर काम गर्नुपर्ने हुनाले निकै गर्मी र वाकवाकी आउने अर्की बालिका सीताले दुखेसो पोखिन्।
उद्धार गरिएका बालबालिकालाई उनीहरूका अभिभावक स्वयंले केही समयपछि पुन पहिलेकै काममा फर्काउने हुनाले उनीहरूलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने माइती नेपालका निर्देशक विश्वराम खड्काले बताए। भूकम्पपछिको अवस्थामा बालश्रमको साथै वैदेशिक रोजगारीको प्रलोभन देखाएर बेचबिखनको शिकार हुने क्रम पनि बढेको उनको भनाई छ। संस्थाले चारदिन अगाडि मकवानपुरबाट सिन्दुपाल्चोक इचोक वडा नं ५का नौ जनालाई उद्धार गरेको छ। यी युवतीलाई दुई वटा टाटा सुमोमा दक्षिणकालीको बाटो हुँदै मकवानपुर लगिएको थियो।
अशोक तामाङ नाम गरेका एजेन्टले उनीहरूलाई त्यहाँबाट काकडभित्ता र त्यसपछि ब्याङ्लोर हुँदै दुवई लैजान्छु भनेको थियो। यी सबै युवतीका पासपोर्ट हाल अशोकसँगै छ। भारत गएर १०,१२ दिन बसेपछि त्यहीबाट दुवईको भिजा लगाइदिने आश देखाएका अशोकलाई पक्राउ गरी हाल मकवानपुर जिल्ला अदालतमा जिउ मास्ने बेच्ने अन्र्तगत मुद्धा दर्ता गरिएको छ।
पहिले छोरीहरूलाई विदेश पठाउने भनेर अभिभावककै सहमतिमा पासपोर्ट बनाइएको थियो। तर पछि अभिभावकलाई नै शंका लागेपछि उनीहरूमध्येका ३,४ जनाले संस्थामा दिएको उजुरी अनुरूप अशोकलाई पक्राउ गरी ती युवतीको उद्धार गरिएको हो।
उद्धार गरिएका युवतीलाई आफू कुन कामको लागि विदेश जान लागेको र त्यहाँ कति कमाइन्छ भन्ने पनि थाह छैन। वर्षले १८ लागे पनि नागरिकतामा २० बनाइएको माया तामाङले भनिन्,‘खै काम त के गर्ने भन्ने थाह छैन, तर पैसा धेरै कमाइन्छ भनेर विदेश जान तयार भएको।’ भूकम्पले घर भत्केर बस्ने बास समेत नभएकाले आफूले कमाएको पैसाले घर बनाउँछु भन्ने उनको धोको थियो। घरमा दाजु छन्। उनलाई विद्यालय जानुपर्ने भएकाले काम गर्न भ्याउँदैनन्। त्यसैले घरमा पालेका दुई वटा गोरू र एक भैंसीका लागि चाहिने घाँस पात उनकै जिम्मामा छ। विहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म काममै वित्छ। सरकारले भिजा निशुल्क गरेर विदेश जानलाई प्रोत्साहन गरेपनि वैदेशीक रोजगारीको नाममा भेडाबाख्रा जस्तै गरी गैरकानुनी तरिकाले विदेश लैजानेलाई कारबाही गर्न सरकार सचेत हुनुपर्ने निर्देशक खड्काले बताए।
अन्नपूर्ण पोष्टमा प्रकाशित
प्रकाशित मिति असार ६, २०७२ (june 21 2015)
No comments:
Post a Comment