Monday, August 17, 2015

बलात्कारपछि हार्पिक खुवाइएकी बालिकाको मृत्यु

रामकला खड्का
काठमाडौं ः अधिकारकर्मी बन्न चाहने आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्ने ब्यक्तिलाई कारबाही गरी आफूलाई अधिकार दिलाइदिन सिरहा मौवानी २ की मीनादेवी सहनीले प्रहरीलाई गुहारेकी छिन् । आफ्नो १४ बर्षिया छोरीको गत वैशाख १२ गते उनी काम गर्दै आएकी होटेलका कुक विनोद बस्नेतले बलात्कार गरेको उनको आरोप छ । उनका अनुसार बलात्कारपछि छोरीले घटनाबारे अरुलाई बताउन नसकोस भन्दै उनलाई एक बोतल हार्पिक खुवाइएको थियो ।
हार्पिकको असरले छोरीले जे खायो त्यही वान्ता गर्न थालेपछि उनी काम गर्ने लहानस्थित राकेश होटेल एण्ड लजका संचालक नथुनी शाहले ३७ दिनसम्म कसैको सम्पर्कमा आउन नदिएको र उपचार गर्ने नाममा लहान, धरान र विराटनगरका विभिन्न प्राइभेट क्लिनिकमा लग्दै वान्ता रोक्ने औषधि मात्रै दिने गरेको सहनीले बताइन् ।
११ वर्ष पहिले पतिले घरबाट निकालिदिएपछि आफ्ना ६ वटा छोरीहरुको पालनपोषणको जिम्मा सहनीको काँधमा आइलाग्यो । उनी स्वयंले पनि एक होटेलमा काम गर्न थालिन् र आफ्ना छोरीहरुलाई होटेलमै काम लगाइदिइन् । पतिले जन्मदर्ता पनि नबनाइदिएकाले छोरीको पढेर महिला अधिकारकर्मी बन्ने चाहना अपरै रहेको उनले रुँदै सुनाइन् ।
विगत एक वर्षदेखि उक्त होटेलमा काम गर्न थालेकी उनकी छोरी सवेरै काममा गएपछि बेलुकी आठ बजेमात्रै घर आउँथिन् । घटनापछि पनि आफूले छोरीलाई के भएको भनेर पटक पटक बुझ्न खोज्दा होटेल मालिकले धेरै खाएर वान्ता भएको भन्दै आमाछोरीबीच कुराकानी हुनै नदिएको उनले गुनासो गरिन् ।
बालिकामाथि भएको घटनाको बारेमा गत जेठ २७ गते विभिन्न अस्पताल श्रोतबाट जानकारी पाएपछि मुक्ति नेपाल नामक स्थानिय संस्थाले बालिकाको उद्धार गरी लहान अस्पतालमा उपचार गराउन थाल्यो । लहानले धरान र धरानले काठमाडौंमा रिफर गरेपछि बालिकालाई असार १५ गते काठमाडौं ल्याई वीर अस्पतालमा उपचार गराउन थालियो । हार्पिकमा भएको एसिडका कारणले उनको खाना नली नै सुकेकाले सल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह थियो । सल्यक्रिया गरेपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएकोले भोलिपल्ट डिस्चार्ज गर्ने कुरा थियो । तर एक्कासी गत आइतबार राति साँढे आठ बजे अस्पतालबाट उनको मृत्युको खबर आएपछि आफूहरु छानाबाट खसे सरह भएको ओरेक नेपालकी कार्यक्रम तथा ब्यवस्थापकिय निर्देशक प्रतिमा शर्माले बताइन् ।
हार्पिकले भित्रभित्रै विस्तारै असर गर्न थालेपछि पीडित बालिकाको कलेजो फुटेर मृत्यु भएको उनको उपचारमा सम्लग्न चिकित्सकले बताएको शर्माले प्रष्ट्याइन् । बालिकालाई उपचारको लागि काठमाडौं ल्याइएपछि उनले केही खान नसक्ने हुनाले इन्जेक्सनमार्फत प्रोटिन दिइने गरेको थियो । प्रोटिन दुई तीन पटक दिइसकेपछि बालिकाको मुहारमा हसिलोपन आएको र उनले निको भएपछि यो गर्छु त्यो गर्छु भन्दै आफूलाई भनेका कुरा शर्मा यसरी सम्झिन्छिन् ‘ मीस मलाई निको भएपछि मासु भात र सेल रोटी खान पाउँछु । आँपको सिजन छ आँप पनि खान्छु र घडी पनि लगाउँछु भन्थी ।’
तपाईंहरु जहाँ जानपर्छ जानुस भन्दै होटेल संचालक नथुनी शाहले आफूलाई धम्की दिएका मुक्ति नेपालकी उपाध्यक्ष रेणु कर्णले बताइन् । शाहलाई राजनीतिक संरक्षण रहेकाले उनले विभिन्न पार्टिका कार्यकर्तालाई मिलाइदिनुस भन्दै फोन गर्ने गरेका पनि कर्णले बताइन् ।
आरोपीत कुक बिनोद बस्नेत  प्रहरी हिरासतमा रहेका ओरेक नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । उनीमाथि ज्यान मुद्धा दर्ता गरिएको छ । होटेल संचालक शाह पनि आफ्नो छोरीको मृत्युमा उत्तिकै दोषी भएकाले दुवैलाई ज्यान मार्ने अभियोग अन्र्तगत कारबाही गरिनुपर्ने पीडीतकी आमा सहनीले बताइन् ।
Published On : 5th August / Annapurna Post

No comments:

Post a Comment