Friday, June 26, 2015

राहतमा जुटे हलिउड स्टार

रामकला खड्का 
विनाशकारी भूकम्पले धेरै जनधनको क्षति मात्रै होइन, नेपालीमाझ डर र त्रासको वाताबरण पनि सिर्जना गरेको छ। यस्तो अवस्थामा पीडितलाई खानेकुरा, पाललगायतका राहत सामाग्रिबाहेक उनीहरूको मनोबल बढाउनुपनि उत्तिकै आवश्यक छ। यस्तो काम नेपाली सेलिब्रेटीले त गरेकै छन्। यसमा साथ दिन विश्वका चर्चित स्टारहरू पनि नेपाल आइपुगे। उनीहरूले भूकम्पपीडितको शाररीक र मानसिक घाउमा मल्हम मात्रै लगाएनन्, विश्वभर नेपाल अझै सुरक्षित, शान्त र सुन्दर छ भन्ने सन्देश पनि फैलाए। 

वैशाख १२को भूकम्प जाँदा हलिउड नायिका मिचेल योह नेपालमै थिइन्। भूकम्पलाई आफूले प्रत्यक्ष अनुभव गरेको र यसको विनाश आफैले देखेका कारण पीडितलाई सहयोग गर्ने विषयमा उनी बढी संवेदनशील भइन्। ग्लोबल रोड सेफ्टी राजदुतका रूपमा रहेकी ५२ बर्षिय मलेसियन सुन्दरीले नै सबैभन्दा पहिले नेपालमा आएको भूकम्प, यसले गरेको विनाश र भूकम्पपीडितलाई गर्नु पर्ने सहयोगको बारेमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलाई जानकारी गराइन्। 

नेपाल अटोमोबाईल स्पोर्ट्स एशोसिएसन (नासा) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा भएको विभत्स क्षतिमा तुरुन्त राहत र सहयोगको खाँचो औंल्याउँदै सही ठाउँमा काम गर्न जरूरी रहेको बताइन्। बौद्य धर्म मान्ने हलिउड स्टारमध्येकी सबैभन्दा बरिष्ठ मिचेल पुन नेपाल आएर पीडितका पक्षमा उभिएको विषय विश्वभरका संचार माध्यममा चर्चाको विषय बन्यो। विश्वका ५० भन्दा बढी संचार माध्यमले ‘मिचेल रिटन्र्स नेपाल अगेन’ भन्दै दिएको समाचारले विश्वभरका पर्यटकलाई नेपालमा हेर्न लायक अझै धेरै बाँकी छन् भन्ने सन्देश दियो। 

मलेसियाका पर्यटन दुतका रूपमा रहेका उनका श्रीमान जेन टड ‘युएन स्पेशल इन्भ्वोय फर रोड सेफ्टी’का रूपमा पनि नियुक्त भएका छन्। यी दुवै दम्पत्तिले नेपालमा आएर यहाँका भूकम्पपीडितका लागि देखाएको सहयोगको तत्परताका कारण हाल विश्वका विभिन्न ठाउँबाट पीडितलाई राहत सामाग्रि जुट्न थालेको नासाका महासचिव गोविन्द भट्टराईले बताए। विश्वका १०,२० जना स्टारहरूलाई यसै वर्ष नेपाल भ्रमण गराएर नेपाल अझै सुरक्षित र सुन्दर छ भन्ने महशुस गराउन सके यो सूचना संसारका करोडौं मान्छेसामू पुग्ने र नेपालमा पर्यटनको क्षेत्रमा केही गर्नुपर्छ भन्ने सकारात्मक प्रतिस्पर्दाको भावना जाग्ने उनको विचार छ। 

यसै साता हलिउड नायिका सुजन सारान्डोन भूकम्पपीडितका लागि भूकम्प तथा हुरी प्रतिरोधक घर निर्माण गर्न नेपाल आएको खबरले पनि विश्वसंचार माध्यमलाई ततायो। रामकोटका नौवटा गाउँमा ‘लिभ टु लभ इन्टरनेसनल’ले बनाउँदै गरेको दुई सय एक घरको उद्घाटन गरेपछि ओस्कार विजेता सारान्डोनले दिएको अभिब्यक्तिप्रति विश्वसमूदायको ध्यान केन्द्रित भयो। ‘डेड म्यान वाकिङ’, ‘एटलान्टिक सिटी’, ‘थेल्मा एन्ड लुजी’लगायतका चर्चित चलचित्रकी यि नायिकाले भूकम्पबाट भएको विनाशबाट आफू दुखी भए पनि पुर्ननिर्माणका कामप्रति सन्तुष्टि जनाइन्। 

उनले भनिन्,‘घर निर्माणको शुरूवातमा म आइपुगें अब सकिएपछि पनि हेर्न आउने छु।’ त्यसैगरी उनले आफू अब काठमाडौं शहर गएर त्यहाँका तस्विरहरू खिच्ने र सबैलाई नेपालमा हेर्न बाँकी अझै धेरै छ भनेर तिनै तस्बिरहरू देखाउने समेत बताइन्। उनका यिनै बाक्यलाई विश्वका संचारमाध्यमले प्रचार गर्दै नेपालमा पीडासँगै सुरक्षित पर्यटन पनि छ भन्ने विश्वमाझ पु:यायो। 

आफ्नो फेसबुक पेजमा समेत नेपालका भूकम्पपीडित त्यसमा पनि विशेषगरी सीएनएन हिरो विजेता पुष्पा बस्नेतको निर्माणाधिन बटरफ्लाई होम र उनका बच्चाहरूलाई सहयोग गर्न आब्हान गरेकी नायिका सारान्डोन चपलीस्थित प्रारम्भिब बालविकास केन्द्रमा गएर त्यहाँका बालबालिकालाई पनि भूकम्पको त्रासबाट ध्यानलाई अन्यत्र केन्द्रित गर्न मदत पु:याइन्। 

अमेरिकी कलाकार कार्ल क्नापले भूकम्पले क्षति बनाएका कीर्तिपुर नगरपालिका वडा नं १८ इटागोलमा २० वटा जस्तापाताका घरहरू बनाइदिएका छन्। नेपाल बस्ने उनकी श्रीमती आनी लिलोङको आर्थिक सहयोगमा घर निर्माण गरिएको हो। त्यसैगरी चिनीया कलाकार ज्याकी चानले नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ सिंगापुरमा आयोजित एक कार्यक्रममा ७७ लाख रूपैंया सहयोग प्रदान गर्ने निर्णय गरेका छन्। 

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार भूकम्प पीडितको सहयोगका लागि आयोजित नेपाल अर्थ क्वेक रिलिफ फण्डमा छोटो समयलाई उपस्थिति जनाएका ज्याकीले एक लाख सिंगापुर डलरको चेक सिंगापुर रेडक्रसका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए। ज्याकी नेपालका भूकम्प पीडितलाई सहयोग गर्न नेपाल आउने खबर पनि यतिखेर चर्चामा रहेको छ। 

No comments:

Post a Comment