Sunday, August 2, 2015

जापानी महारानीसँग किताब चर्चा

रामकला खड्का
बँगैचा कटेर छिर्ने वित्तिकै बैठक कोठा । कोठामा टेबुुलैपिच्छे मोटा र गरुंगा किताबहरु । किताब जति गरौं, मुल्य पनि त्यतिनै बढी । शिक्षाविद् डा.केदारभक्त माथेमाले टेबलका किताब देखाउँदै दायाँपट्टि जोडिएको पुस्तकालयमा लगे । कोठाभित्र पूर्व र उत्तरपट्टिका अग्ला ¥याकमा भरिभराउ पुुस्तकले माथेमाको पुुस्तकप्रेमलाई प्रष्ट झल्काउँथ्यो । कोठा बाहिर यसो चियाउँदा पनि आँखा किताबकै ¥याकमा पुुग्थ्यो । भ¥याङ र अन्य कोठाहरुमा समेत नअटेपछि घर बाहिरको सानो टहरा पनि पुस्तककै लागि उनले छुट्याएका रहेछन् ।


एउटा लाइब्रेरियनलाई आफूले पालेका पशुुपंक्षी जत्तिकै माया लाग्छ रे किताबको । यस्तै अनुुभव माथेमाको पनि छ । यदी कसैले सुुनको ढिक्का र किताबलाई सँगै राखेर रोज्न लगाए किताबलाई नै रोज्छु भन्छन् उनी । मान्छेको संगतभन्दा किताबकै संगत राम्रो मान्ने माथेमा भन्छन् ,‘ यसले एकोहोरो रुपमा सोच्न बध्य बनाइरहेको हुुन्छ ।’

यति धेरै माया बसिसकेका यी किताबमध्ये सबै भने उनले पढ्न भ्याइसकेका छैनन् । तर जति पढ्छन्, त्यसैमा लिप्त हुन्छन् । जर्मन कवि रेइनर मारिया राइकको ‘डुुइयो इलिगिस’ पढ्दा मनको भावलाई त्यसै किताबमा चित्रमा उतारेका माथेमाले प्रा.डा भुचन्द्र वैद्यको ‘भगवत्गीता’मा भूमिका लेख्दा पनि कृतिमै कृष्णको चित्र कोरिदिएका थिए । कतिपय अवस्थामा भने किताब पढेपछि त्यसैको बारेमा लेख्ने उनको बानी छ ।

साहित्य,संगीत,इतिहासलगायतका मात्रै होइन, विज्ञान पनि उनको रुचिको विषय हो । उनीसँग रुख, विरुवा, फुल, चराको साथै घर कसरी बनाउने भन्ने पनि पुस्तक छ । ‘बडर््स अफ नेपाल’मा हेरेर उनी आफ्नो बँगैचामा आउने विभिन्न चराहरुको पहिचान मात्रै होइन ‘पहिले सन बर्ड आउथ्यो अहिले आउन छाड्यो । भद्राई जातको चरा अहिले पनि जाडोमा आउँछ’ भनेर जीवशास्त्री झैं किटान गर्न सक्ने भएका छन् । त्यसैगरी गुलावलाई कम्तिमा दैनिक पाँच घण्टा धाम चाहिन्छ र पेसेन्स नामको फुल ओजेललमा मात्रै हुर्कन्छ भन्ने ज्ञान पनि किताबबाटै उनले पाएका हुन् । कतिपय अवस्थामा त बनस्पतीशास्त्रीले नचिनेका रुखलाई उनले जापानबाट ल्याएको ‘ट्रीज’ पढेर सजिलै पत्ता लगाइदिन्छन् ।

किताबप्रतिको माथेमाको लगाभ विद्यार्थी जीवनदेखि कै हो । २०१५ सालमा विश्व निकेतन उमाविमा १० कक्षामा पहिलो भएपछि दुई वर्ष पछाडि भएको कार्यक्रममा उनलाई पुस्तक नै उपहार दिइएको थियो । वासिङटन आर्भिनको उक्त पुस्तकको साथै करिव १६ वर्ष अगाडि कोरियामा किनेको क्याथलिन नरिसको ‘द क्लोइस्टर वाक’ पढ्ने साइत बल्ल जुुरेको छ । स्नातकको परिक्षा दिएपछिको खाली समयमा दिनभरी पढेर बेलुका बाहिर घुम्न हिँड्दा बाटोमा हिँडेका सबै त्यही उपन्यासका पात्र हुन् की जस्तो लाग्थ्यो रे उनलाई ।

उनको संकलनमा फिक्सनभन्दा ननफिक्सन र नेपालीभन्दा अँग्रेजी किताब नै बढी छन् । आफूले अँग्रेजी धेरै पढ्ने भएकाले यही भाषा सजिलो ठान्ने माथेमा नेपालीमा संस्कृत शब्दको प्रयोगले पढ्न कठिन हुने अनुभव सुनाउँछन् । यद्यपी नेपाली किताबमा आफ्नै समाज परिवेश र देशका कथा हुने भएकाले तीनलाई पढ्दा रमाइलो मान्छन् उनी। हाल उनी अभि सुवेदीको ‘फलानरको डायरी’, अमर न्यौपानेको ‘करोडौं कस्तुरी’ र हरिबंश आचार्यको ‘चिना हराएको मान्छे’ पढिरहेका छन् भने अँग्रेजीमा थोमस पिकेटीको ‘ क्यापिटल इन द ट्वान्टि फस्ट सेन्चुरी’ पढीरहेका छन् । फ्रान्सेली किताबको अँग्रेजी अनुवादको रुपमा रहेको यस पुस्तकमा राष्ट्रको आम्दानी, अर्थ, असमानतालगायतका विषयमा कुरा उठाइएकोले पढ्दा धेरै ज्ञान पाएको उनी बताउँछन् ।

चुरोट रक्सीको लत छैन । त्यसैले किताब बाहेक पैसा खर्च गर्ने अरु माध्यम पनि देख्दैनन् माथेमा । एउटै किताबलाई सात, आठ हजारसम्म हालेका छन् उनले । सन् १९७०मा बेलायतमा पढ्न जाँदा अमेरिकामा काम गर्ने उनले मौका पाएका थिए । सोही क्रममा उनले स्पेनका कलाकार सलबोदर डालीको कला संग्रहलाई ७० डलर हालेर किनेका थिए । त्यतिबेला यूरोपका ग्रिस, इटाली, जर्मनी, स्विजरल्याण्ड, लेबनन, सिरियालगायतका मुलुक र मध्यपूर्वका केही देश घुम्दा पाँच किलोभन्दा बढी तौलको उक्त पुस्तकलाई सुटकेसमै झुन्ड्याएर यात्रा गरेको उनी सम्झन्छन् । विदेश जाँदा ट्रान्जिट र प्लेलनमा घण्टौंसम्म किताब पढ्ने मात्रै नभई घर फर्कदा कोशेली पनि कहिले चार पाँच त कहिले आठ दस वटै किताब ल्याउँथे उनी । करिव सात हजारभन्दा माथि नै हालेर आफूले किनेका ‘बुद्धिष्ट’ लाई पनि केही समयका लागि फोटोग्राफर दिपेन्द्र बज्राचार्यले लगेका उनी बताउँछन् । जापानी विदेशी किताब असाध्यै महंगो हुन्छ । तैपनि उनी २०५३ सालदेखि २०५९सालसम्म जापानको लागि नेपाली राजदुत हुँदा त्यहाँ पनि थुप्रै किताब किने । त्यसैमध्येका ‘ट्रिज’ पढेर उनलाई आफ्ना देशका रुख चिन्न सजिलो भएको छ । ४० वर्षसम्म नेवारी आर्किटेक्टको अध्ययन गरेर जर्मनी आर्किटेक्ट गुच्चोले लेकेका ‘नेवारी आर्किटेक्चर’ शिर्षकको किताब पढ्ने र हेर्ने उनको ठूलो रहर छ । तर पुस्तकको मुल्य ४० हजार जति पर्ने भएकाले उनले आँट गर्न सकेका छैनन् ।

किताब लगेर फिर्ता नगर्ने पहिले धेरै हुन्थे । पैसा फिर्ता नगर्नेलाई भन्दा किताब नफर्काउनेलाई उनी बिर्सदैनन् । जन्मदिनलगायतका समारोहमा पुस्तक नै उपहार पाए विशेष लाग्छ उनलाई । लायना इन्की नाम गरेकी एक अमेरिकन विद्यार्थीलाई उनले गरेको सहयोग स्वरुप उनले माथेमालाई हेन्री मिलरको ‘द स्माइल एट द फुट अफ द ल्याडर’ दिइन् । यो पुस्तक उनीसँगै मागेर कसैले लगेपछि हराएको थियो । उनले उपहार दिएपछि हराएको पुस्तक भेटेजत्तिकै खुसी भए माथेमा । हरि शर्माले पनि आफूलाई बेलाबेलामा किताब दिने गरेका उनी बताउँछन् । उनले भने अरुको किताब ल्याएर नफर्काएको याद छैन । तर कुनी कसरी हो विश्वेश्वरप्रसाद कोइरालाले मंगलादेवीलाई उपहार स्वरुप दिएको सुम्निमा उनको पुस्तकालयमा भेटियो । त्यसैगरी सन् १८७७ मा प्रकाशित ‘हिष्ट्री अफ नेपाल’ पनि चन्द्रशमशेरको नीजि पुस्तकालयबाट उनकोमा आइपुगेको छ । ‘फेरि किताब लिन चन्द्रशमशेरका छोरानाति आउलान् नि’ ठट्टा गर्दै उनी आफ्ना बाजेले ल्याएर नफर्काएका हुन् की भन्ने अनुमान लगाउँछन् ।

किताबले सम्बन्ध जोडाईमा पनि सजिलो पारेको उनको भोगाई छ । एक पटक कोरियाको विदेशमन्त्री भेट्दा उसैले पढेको जोसेफ कनरार्डको किताबको बारेमा गफ गर्दा खुब रमाइलो भएको थियो रे । त्यसैगरी राजदुत हुँदा जापानी महारानीसँग पनि किताबकै कुरा निकाल्दा उनी रमाउँथिन् । पुस्तक पढ्ने मानिसलाई जीवनको सफरमा भेटिने मानिससँग डिल गर्न सजिलो हुने उनको अनुभव छ । त्यसैले अध्ययनले मानिसको ब्यक्तित्व चाख लाग्दो बनाउने हुनाले युवा पुस्तालाई पनि साहित्यीक र गैरसाहित्यीक दुवै पुस्तक पढ्न उनी सुझाब दिन्छन् ।

No comments:

Post a Comment