Friday, July 24, 2015

युवती हेर्दा नसा चढ्थ्यो

हे महाभूकम्प तिम्रो
कति अनौठो कम्प यो ?      
मात्र एकै कम्पले पनि
एक जुगकै अन्त भो
कति ढले घर, मठ र मन्दिर
सहर, गाउँ मसान भो
यो त हाम्रो अहम्प्रति नै
वज्रपात समान भो...।
गीतकार दुर्गालाल  श्रेष्ठले भूकम्पपछि लेखेका ‘विपत्तिमा गुञ्जिएको समवेत गान’ का केही हरफ हुन् यी । उनले यस्ता थुप्रै सुन्दर गीत रचना गरेका छन् । उनले सिर्जना गरेको ‘फूलको आँखामा फूलै संसार’ गीत धेरैले गुनगुनाउने गर्छन् । एसएलसीपछि पढाइ छाडेर सांस्कृतिक क्षेत्रमा लागेका चर्चित गीतकार  श्रेष्ठ बैंसमा कस्ता थिए त ?   उनकै शब्दमा ।


म भाग्यमानी

तपाईं यो बेला मसँग मेरो युवाअवस्थाका कुरा सोध्दै हुनुहुन्छ । यो प्रश्नबाटै बुझियो कि म बूढो भएँ । बाँच्नु भनेको मेरो आँखामा होइन तपाईंको आँखामा बाँचिरहेछु । झसंग पनि भएँ कि म बूढो भएको रहेछु भने र। युवा हुँदा कति जवानी लिएर बाँच्या थिएँ, सम्पूर्ण सम्झना त मलाई छैन । वर्गीय हिसाबले विपन्न परिवारको बच्चा भए पनि सांस्कृतिक माहोलले भरिपूर्ण काठमाडौंको बच्चा भएर हुर्कन पाएँ । म यति भाग्यमानी कि मेरो सांस्कृतिक घनत्तरले आफूलाई कहिले विपन्न अनुभूति भएन ।

म गाईजात्रे कलाकार

पढ्नमा म ज्यादै तेजिलो थिएँ । तर मेरो ध्यान यस्तरी मोडियो कि म शैक्षिक योग्यता पाउनबाट वञ्चित भएँ । कारण, म गाईजात्रे कलाकार भएर यो क्षेत्रमा प्रवेश गरें । आजसम्म पनि छ ु।

ह्रस्व दीर्घ नजान्ने व्याकरण गुरु

जसलाई ह्रस्व दीर्घ नै आउँदैनथियो, उसैले मलाई व्याकरण सिकायो । बर्माबाट फर्केको एक दम्पतीको घरमा उताबाट ल्याएको हीरा जवाहरात देख्दा म छक्क पर्थें । उनीहरू डेरा गरी बसेका टोलका बच्चालाई बटुलेर पढाउने भनेर लागे । हामीलाई सिकाउन भनेर पहिलो पुस्तक र दोस्रो पुस्तक दिए । पुस्तकमा जसरी लेखेको छ त्यसरी सार भन्थे । वर्षौंसम्म त्यसलाई कापीमा सारेपछि आफैं अभ्यस्त भएँ ।

मोतीको दानाझैं सुन्दर अक्षर

पद्मोदय हाइस्कुलमा जाँदा मेरो खुट्टामा जुत्ता हुँदैनथ्यो । सुरुवाल पनि टालेका हुन्थे । अरू राणालगायतका सम्पन्न परिवारका विद्यार्थी । मेरो अक्षर चाहिँ मोतीको दानाझैं सुन्दर थिए । म ५ कक्षामा पढ्दा मेरो कपी लगेर १० का विद्यार्थीलाई देखाउनुहुन्थ्यो शिक्षकले । विद्यालयमा बिहानै लक्ष्मीप्रसाद देवकोटाको कविता गाउने चलन थियो । मेरो स्वर सबैले मन पराउँथे । यिनै गुणले गर्दा मेरो विपन्नता उनीहरूको आँखाबाट हट्यो र म पनि उनीहरूसँग बस्न लायक भएँ ।

अपमानपछि लेखक कलाकार

बांगेमुढामा मेरै टोलका साथीले गाईजात्राको डबलीमा देखाउन नाटक अभ्यास गरिरहेका थिए । त्यसमा नायिकाको भूमिकामा प्रेमध्वज प्रधान हुनुहुन्थ्यो । हामीले उनीहरूको अभ्यास हे¥यौं भनेर ढोका बन्द गरे । त्यो अपमान सहन नसकेर आफैंले नाटक लेखें । मेरो लेखन नाटकबाट सुरु भयो । अनि आफ्नै टोलका तन्नेरी साथीसँग मिलेर अभ्यास गरी त्यसलाई बडो राम्रोसँग मञ्चन गरियो । त्यसपछि दुर्गालाल कलाकार भयो ।

किसानको संगतले गीतकार

मलाई धान खेतमा फल्छ र किसानले फलाउँछन् भन्ने पनि थाहा थिएन । म त असनमै फल्छ भन्ठान्थे । नाटक खेलाउने सिलसिलामा किलागलमा एउटा किसानसँग संगत भयो । अनि मैले लोकधुनमा एउटा गीत लेखें ।  त्यो गीतले यतिबेला हिन्दी गीतभन्दा बढी लोकप्रियता कमायो । सहरभरि मेरै गीत बज्थ्यो । विवाहको बाजामा पनि मेरै गीत हुन्थ्यो । त्यसपछि म गीतकार भएँ । जवानी आँखामा झल्कन्थ्यो
तन्नेरी अवस्थामा जवानीपन त आइनै हाल्छ । यो पनि आँखा हो, ऊ बेलाको पनि आँखा नै हो । गरिबी व्यहोर्दा पनि मेरो जवानी मेरो आँखैमा झल्कन्थ्यो । आफ्नो समबैंसको युवती हेर्न पाइयो भने नसा चढेको जस्तो हुन्थ्यो । प्रणयसम्बन्धी कुरामा पनि कसैले सिकाउन नपर्ने । उमेर मिल्नेसँग मन बस्यो र विवाह पनि भयो ।
प्रस्तुति : रामकला खड्का

No comments:

Post a Comment