Thursday, June 25, 2015

'भागौंला भनेर केटी हेर्न मानिनँ'

सबैभन्दा बढी महिलाले विश्वास गर्ने पुरुष डाक्टर हुन्, भोला रिजाल। चिकित्साशास्त्रमा जत्तिकै ख्याति कमाएका छन् उनले संगीत क्षेत्रमा पनि। देशमै बसेर बिरामीको सेवा गर्ने नेपालको पहिलो पुरुष स्त्रीरोग विशेषज्ञ डा. रिजालले हालसम्म २५ सयभन्दा बढी गीत लेखिसकेका छन्। लक्ष्मीपूजा, छोरीबुहारी, जूनतारा, उकाली ओराली, गौंथलीलगायतका नौवटा चलचित्र बनाइसकेका उनको रेकर्डिङ भएका गीतको संख्या दुई सय ५० भन्दा बढी छन् भने चलचित्रमा सयभन्दा बढी भइसकेका छन्। चिकित्सा र कला दुवै क्षेत्रमा सफल डा. रिजाल बैंसमा कस्ता थिए त ? उनकै शब्दमा: 


१५ वर्षकै उमेरमा विवाह 
मेरो युवावस्था कहिले आयो कहिले गयो, राम्रोसँग थाहै भएन। १५ वर्षकै उमेरमा विवाह भयो। श्रीमती सरला रिजाल त्यतिबेला १२ वर्षकी थिइन्। हामीले मन पराएर वा चाहना राखेर विवाह गरेको होइन। म हजुरबुबाको प्रिय नाति। उहाँले आफू काशी जानु अगाडि भोलाको बिहे गरे राम्रो भनेपछि विवाहको कुराकानी भयो। विवाहअगाडि मैले उनलाई देखेको थिइनँ। ‘तलाई मनपर्छ कि पर्दैन केटी हेर्ने कि’ भनेर कुरा छिनिसकेपछि त सोधेका थिए। तर मैले मन नपरे जग्गेबाटै भागौंला भन्ने सोचेर केटी हेर्न मानिनँ। 

मन परेका केटीसँग गफिन्थेँ 
म एमबीबीएसको लागि ढाका जाँदा जेठो छोरा जन्मिसकेको थियो। दसैंताका परेकाले कलेजमा भएको कार्यक्रममा मैले गीत गाउने क्रममा बोल्दा आफ्नो विवाह र छोराको बारेमा बताइसकेको थिएँ। यौवन अवस्थामा मन परेका केटीसँग गफ गर्ने इच्छा सबैलाई हुन्छ। म पनि कसैसँग गफ गर्न पछि हट्दिनथें। म विवाहित हुँ, त्यसैले कसैलाई पनि मन पराएर प्रेमीप्रेमिकाको भूमिका निभाउन सक्दिनँ। तर असल साथीको भूमिका निभाउन तयार छु भनेर प्रष्ट पारिदिन्थेँ। 

पतिपत्नी डेढ वर्ष बोलेनौं 
म यो स्थानमा आइपुग्न पत्नीको ठूलो प्रेरणा छ। वनारस पढ्न जाँदा उनैले मलाई प्रेरित गरिन्। ढाका जाँदा पनि नाइँनास्ती गरिनन्। वनारसबाट आएपछि म, सरला र मेरो काकाको छोरा तिलकसँगै बसेर गफ गथ्र्यौं। विवाह भएको लगभग डेढ वर्षसम्म एक त हामीअर्कासँग बोलेनौं। एउटै कोठामा बस्दा पनि लाज लागेर बोलचाल हुँदैनथ्यो। वनारसबाट फर्किएपछि भारत पाक युद्धका कारण मेरो पढाइ एक वर्ष ढिला भयो। एमबीबीएस पढ्न ढाका जाने फ्लाइट भदौ २४ को थियो, छोरा जन्मियो २२ मा। उनीहरू विराटनर, म काठमाडौंमा भएकाले जाने समय मिलेन। तर त्यति हुँदा पनि सरलाले पढ्न जानुस् भनेर हौसला दिइन्। डेढ वर्षमा आएर जेठो छोराको मुख हेरेँ। 

गीतका लागि चलचित्र हलमा 
वनारसमा दुई वर्ष बस्दा मैले सयभन्दा बढी नै चलचित्र हेरेँ। मन नलागी पढ्ने बानी थिएन। त्यतिखेर चार आनामा हलको चौथो क्लासमा छिर्न पाइन्थ्यो। कुन चलचित्र चलेको छ मतलवै नगरी हेर्न जान्थें। आधा घन्टा हेरेपछि ‘ए मेरो त पढ्नु छ भोलि परीक्षा छ’, भन्ने सम्झेर घर फर्की पढन बसेको पनि छु। गायनमा सोख भएकाले राम्रा गीत भएका चलचित्रको गीतमात्रै हेर्न पनि हलमा जान्थें। ६० को दशकको हिट चलचित्र संगम, दोस्ती आदिको गीत गाउन आएन भने आफैंलाई पीर लाग्थ्यो। कतिपय चलचित्र गीतकै कारण छ, सात पटक हेरेको छु। 

नायकको शैलीमा पहिरन 
चलचित्र चलेअनुसार जुनजुन हिरोले जे लगायो, त्यही लगाउने इच्छा हुन्थ्यो। त्यतिबेला अलि स्टाइलिस देखिनेमा देवानन्द, जितेन्द्र, राजेश खन्ना थिए। सकेसम्म सेतो प्यान्टमा सेतै सर्ट। प्यान्टमा कहिले बेलिबटन त कहिले प्यारेलल लगाइन्थ्यो। हामी मेडिकल विद्यार्थी भएकाले एउटा मर्यादालाई कायम राख्नुपथ्र्यो। तर आउटिङमा जाँदा धर्मेन्द्र, जितेन्द्र आदिले लगाएजस्तै काश्मीरी सुइटर लगाउँथें। 

गाउँले दिए ‘छोटे डाक्टर’को उपाधि 
कलाकारिता ममा जन्मजात आयो। १४ वर्षको हुँदा हाम्रो परिवार इटहरीमा थियो। एक दिन ट्याङ्रा खोला पारिको गाउँमा ठूलो आगलागी भएर एउटै घर बचेनन्। त्यतिबेला हाम्रो औषधि पसल थियो। मैले त्यहाँबाट जे औषधि पाइन्थ्यो त्यही लगेर पीडितको घाउमा मल्हम लगाइदिए। मेरो यस्तो व्यवहारले गाउँलेले माया गर्दै मलाई ‘छोटे डाक्टर’ भन्न थाले। त्यसपछि डाक्टरी त मर्यादित पेसा पो रहेछ भन्ने लाग्यो। यसमा सेवाका साथै सबैबाट माया पनि पाइने रहेछ भन्ने लागेपछि एमबीबीएस पढ्ने रहर जाग्यो। कान्छो छोरा जन्मिँदा भएको जटिलताले झन्डै पत्नी गुमाउनु परेपछि मैले स्त्री रोगमा विशेषज्ञता हासिल गरेँ। 

सात वर्ष समाचार वाचन 
त्यतिबेला ढाका पूर्वी पाकिस्तानमा पथ्र्यो। त्यहाँको रेडियोको कार्यक्रम सञ्चालनको जिम्मा मलाई दिइयो। सात वर्षसम्म मैले त्यहाँ समाचार वाचन गरेँ। त्यतिबेला ठूला कलाकारसँग संगत भयो। बसिल अहमद, सविना यास्मिन, मुस्ताक अहमदलगायतका कलाकारले मेरो गीत पनि गाए। मेरो प्राध्यापक नुरुल इस्लाम ढाकाको सबैभन्दा चर्चित प्राध्यापक भएकाले धेरै कलाकार उहाँकहाँ आउने हुँदा सुभास दत्त, शवाना सबैसँग पनि मेरो चिनजान भयो। 
प्रस्तुति : रामकला खड्का 

No comments:

Post a Comment