Friday, September 25, 2015

सिद्धार्थ र सार्थकसँग निभाको राखी

हिजो जनैपूर्णिमा अर्थात् राखी । यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई हातमा राखी बाँधेर उनीहरूको रक्षाको कामना गर्छन् । कालीमाटीनिवासी निभा  श्रेष्ठ पनि आफ्ना दाजुभाइलाई यसरी नै राखी बाँधिदिन्थिन् अनि उनीहरूको आशीर्वादका साथै उपहार पनि पाउँथिन् । दाइ सिद्धार्थले उनलाई राखी किनेर ल्याऊ भन्दा उनी जिस्कँदै भन्ने गर्थिन्, ‘राखी त भेटिएन, रेखा थापा भए हुन्छ ? ’ हाल सेन्ट मेरिज स्कुलमा कक्षा १० मा पढ्ने निभाले करिब पाँच वर्ष अगाडिदेखि आफ्ना दाइ र फुपूका छोरा सार्थकलाई राखी बाँध्दै आएकी हुन् । विनाशकारी भूकम्पले आफ्ना दुवै दाजुभाइलाई चुँडेर लगेपछि उनको राखीमात्रै होइन, जीवनभरका चाडपर्वलाई खल्लो बनाइदिएको छ । आफ्ना दाजुभाइसँगको निभाको अनुभूति उनकै शब्दमा ः



सपनीमा सँधै सँगै मेरा बडीगार्ड

मेरो पास्नीको भोज खाएपछि मेरी फुपू ब्युटिसियन बिनु श्रेष्ठले भाइ सार्थकलाई जन्माउनुभएको रे । अनि मेरो दाइ सिद्धार्थको भने जन्मदिन प्रत्येक वर्ष भ्यालेन्टाइन डेको दिनमा पर्छ । दाइको जन्मदिनको ठीक दुई वर्षपछि तिथिले त्यही दिन भेट्ने गरी मेरो जन्म भएको हो । हामी तिनैजना उस्तैउस्तै उमेर समूहको भएर पनि होला, एकअर्कामा हाम्रो असाध्यै कुरा मिल्थ्यो । बाहिर घुम्न जान र रमाइलो गर्न हामीलाई आफूआफू भए पुग्थ्यो, अन्य साथीको आवश्यकता महसुस हुने थिएन । दाइ र मेरो जन्मदिन एकै दिन पर्ने भएकाले हामी सानो छँदा पार्टीमा कसले बढी साथी बोलाउने भनेर हामीबीच प्रतिस्पर्धा नै हुन्थ्यो । अलि ठूलो भएपछि परिवारसँग बाहिर घुम्न जान थाल्यौं । विगत केही वर्षदेखि भने सिद्धार्थ, सार्थक र म, हामी तीनजना नै मिलेर मनाउने गथ्र्यौं । सार्थकको जन्मदिन भने यही महिनाको १० गते पर्छ । मलाई पिज्जा एकदमै मन पर्ने भएकाले पोहोर सार्थकको जन्मदिनमा हामी तीनजना काठमाडौं मलस्थित प्लेटिनममा गएर धेरै पिज्जा खाएको अझै बिर्सेको छैन ।

वैशाख ५ गते आमाको मुख हेर्ने दिन परेकाले त्यसको अघिल्लो दिन हामी तीनजना आआफ्नो आमालाई उपहार किन्न भनेर जावलाखेलतिर गयौं । पानी परेकाले भिजीभिजी पनि हामीले उपहार खोज्यौं तर चित्तबुझ्दो भेटेनौं । त्यसपछि रेस्टुराँ गएर खायौं र माइक्रोमा घर गयौं । कोचाकोच माइक्रोमा उनीहरू उठेर मलाई एउटा सिट मिलाइदिए । आमाको मुख हेर्ने दिन सार्थकले फेसबुक हेरेर सिकेको केक बनाएर फुपूलाई दिए रे । मैले म्याक्रोनी पकाएँ र सिद्धार्थ दाइले आइसक्रिममा दूध हालेर फलफूलसहितको डेजर्ट बनाएर ममीलाई खुवाए । बज्यै बित्नुभएको वर्ष दिन पनि नभएकाले यस पालि हामीले कुनै चाड मनाएका थिएनौं । त्यस दिन पनि हामी सपिङका लागि निस्कियौं । फुपू पनि हामीसँगै हुनुहुन्थ्यो । सार्थकले सधैं आफूलाई सजिलो लाग्ने लुगामात्रै लगाउँछन्, फ्यान्सी ड्रेसमा उनको रुचि थिएन । उनले लुगा त्यति किन्दै नकिन्ने भएकाले हामी सँगै भए किन्छन् कि भनेर पनि त्यस दिन हामी सँगै गएका थियौं । सिद्धार्थले सार्थकका लागि सपिङ आएको भनेर केही किनेनन् । तर सार्थकले त्यस दिन खिचापोखरीमा विन्ड ज्याकेट, ट्राउजर, जिन्स, हाफ प्यान्ट, मोजालगायतका लुगा किने । सपिङ सकिएपछि हामीले नाङ्लोमा गएर खायौं । सिद्धार्थलाई मम मन पर्ने भएकाले फुपूले पाँच प्लेटको फेमिली प्याक मगाउनुभएको थियो । तैपनि दुवैले खाएर सक्न लागेपछि फुपूले मेरो लागि अर्कै प्लेटमा छुट्याएर राखिदिनुभयो । दुवैलाई तन्दुरी र सुकुटी पनि खुब मन पथ्र्यो । मकटेल पनि उनीहरू धेरै मन पराउँथे । सार्थक भने पिजा र केक पनि खान खुब रुचाउँथे । अर्को साता पनि घुमघाममै बितिरहेको थियो । बिहीबार ठमेलमा मामाको पसल उद्घाटनमा गएर ललीपप खाँदै फोटो खिचायौं । शुक्रबार ड्याडीको जन्मदिन थियो । तर मलाई पेट दुखेकाले म अलि ढिला उठेँ । सिद्धार्थले भने आफूले बनाएको बर्थ डे कार्डमा मेरो पनि नाम लेखेर ड्याडीलाई दिएछन् । त्यस दिन हामी सपरिवार ककनी गएर जन्मदिन रमाइलोसँग बितायौं ।
भोलिपल्ट शनिबार अर्थात् वैशाख १२ गते । बिहान उठ्नेबित्तिकै मलाई कताकता नरमाइलो लागिरहेको थियो । महिनावारीका कारण पेट दुखेकाले केही गर्ने जाँगर थिएन । हाम्रो टोलवासीको भेटघाट कार्यक्रम थियो । जहिलेसुकै मामाघर आउँदा सार्थक मलाई ‘ढ्याउ’ गरेर तर्साउने गर्थे । त्यस दिन पनि उनी म उठ्नुअगाडि नै आइसकेका रहेछन् । त्यस दिन उनी अर्कोतर्फ फर्केर बसेकाले मैले नै उनलाई तर्साएँ । सिद्धार्थ दाइ बाहिर गएकाले हामीले टीभी हेरेर उनलाई कु¥यौं । उनी आएपछि ममीले हामी तीनैजनालाई टोलको कार्यक्रममा जाऊ भन्नुभयो । त्यहाँ पुगेपछि ड्याडीले हामी तीनैजनालाई टोलवासीसँग परिचय गराउनुभयो । ड्याडी सार्थकसँग सधैं हात मिलाउनुहुन्थ्यो । तर त्यस दिन सिद्धार्थसँग पनि जिस्किएर हात मिलाउनुभएको थियो । सबैसँगको भेटघाटले रमाइलो भए पनि वातावरण अलि धुम्म भएकाले मनमा कताकता खल्लो लागिरहेको थियो ।

बज्यै बितेको ६ महिना पुगेको दिन हामी पहिलोपटक वल्र्ड ट्रेड सेन्टरमा बलिङ खेल्न गएका थियौं । साह्रै रमाइलो भएको थियो । फेरि जाने भन्दाभन्दा कैयौं शनिबार बित्दा पनि जुरेको थिएन । तर त्यस दिन टोलको कार्यक्रम सकिएपछि सिद्धार्थ र सार्थकले बलिङ जाने भने । मेरो होमवर्क पनि बाँकी भएको र पेट पनि दुखिराखेकाले म गइनँ । उनीहरू भने एक घन्टा बलिङ गरेर खाना खान घर आउँछौं भन्दै हिँडे । सार्थकले मलाई लोभ्याउन केक पनि खाने हो भने । तर दाइले भइगयो भनेपछि उनीहरू हिँडे । कालीमाटी चोकमै रहेको हाम्रो मिठाई पसल ‘मिठाई सागर’ अगाडिकै रेलिङमा बसेर मैले उनीहरूलाई बाई गरे । त्यही बाई मेरा दाजुभाइका लागि अन्तिम बिदाइ बन्यो ।

झोछेंस्थित स्नो म्यान क्याफेको केक हामी तीनैजनालाई असाध्यै मन पर्ने । करिब तीन साताअगाडि पनि हामी साँझ ७ बजेतिर वसन्तपुर घुमेर त्यहाँ केक खाएर आएका थियौं । त्यस दिन पनि मेरा दाइ र भाइ त्यहीँ केक खान जाने क्रममा बाटोमै धरहराको सिकार भए । मेरा दाइ र भाइ सधैं सँगै हिँड्ने हुनाले मलाई उनीहरूमाथि पूर्ण विश्वास थियो र मैले भूकम्प आएको धेरै बेरसम्म पनि यस्तो घटना होला भनेर कल्पनासमेत गर्न सकेको थिइनँ । म सधैं उनीहरूलाई मेरो ‘बडीगार्ड’ भनेर जिस्क्याउँथे । मलाई त ठूलो भएपछि बडीगार्ड नै चाहिँदैन है भन्दा उनीहरू पनि जिस्केर ‘जसको नामको अन्त्यमा ए आउँछ उसका दाजुभाइ खतरनाक हुन्छन्’ भन्थे । जहाँ जाँदा पनि मेरो दायाँबायाँ बसेर सधैं सुरक्षा कवच बनिरहन्थे मेरो सिद्धार्थ र सार्थक । हामी तीनैजना मिलेर नयाँ वर्ष, क्रिसमसलगायतका सबै चाड मनाउँथ्यौं । मोर्डन इन्डियन स्कुलमा कक्षा १२ मा पढ्ने मेरो दाइ त्यहाँको अन्नपूर्ण हाउसको क्याप्टेन भएका थिए । उनको इन्जिनियर बन्ने लक्ष्य थियो र कुनै कक्षा नलिए पनि उनी निकै सुन्दर चित्र बनाउँथे । गीतसंगीतको पनि निकै सोखिन । सिद्धार्थ राम्रो गितार बजाउँथे, सार्थक ड्रम र मादल बजाउँथे । मलाई भने किबोर्डमा रुचि लाग्छ । एउटा ब्यान्ड बनाउने र कन्सर्ट गर्ने हाम्रो सोच थियो । सिद्धार्थले ‘तिम्रो त्यो मुहार’ शीर्षकको एउटा गीत नै लेखेका थिए । सार्थकलाई उनी पढ्ने विद्यालय रोजबड स्कुलमा मादल राजाको उपाधि नै मिलेको थियो । उनी टोलका जात्रा र आफ्नो घर कीर्तिपुरमा हुने स्टेज कार्यक्रममा ड्रम र मादल बजाउँथे । व्यवस्थापन विषय पढेर व्यापारी बन्ने उनको लक्ष्य थियो ।

भौतिक रूपमा टाढा भए पनि हररात सपनीमा उनीहरू मसँगै हुन्छन् । दुश्मनलाई आफू मरेको देखाउन उनीहरूले अभिनयमात्रै गरेका हुन् रे । तिमीहरूका हरेक क्रियाकलाप हामीले हेरिरहेका छौं भन्छन् उनीहरू मलाई सपनीमा । मलाई पनि कहीलेकाहीँ यही सत्य भइदिएर मेरा ‘बडीगार्ड’ फेरि सदासदाका लागि मसँगै भइदिए हुन्थ्योजस्तो लाग्छ ।




अभिभाबकको बोली


सिद्धार्थ, सार्थक र निभा भएपछि अरू कोही चाहिँदैन । के खाने कसो गर्ने उनीहरू आफैँ मिलाउँछन् । कतै पिकनिक वा कुनै समारोहमा पनि उनीहरूले नै गीत गाउने र बाजा बजाउने गर्दा वातावरण नै रमाइलो हुन्थ्यो । ठूलो स्वरले कहिल्यै बोल्ने थिएनन् । कहिलेकाहीँ गाली गरे पनि पछि बेकार गाली गरेछुजस्तो लाग्थ्यो ।
राजेश  श्रेष्ठ, बाबु (सिद्धार्थ)

हुन त आफ्नो छोराछोरी सबैलाई राम्रै लाग्छ । तर मेरो छोरा र भदालाई देख्ने जोसुकैले उनीहरूको बयान गर्थे । विद्यालय र टोलछिमेकमा कसैले गुनासो गरेको थाहा छैन । दुवैजना भलाद्मी, अनुशासित, संस्कारी, सहयोगी र कोमल हृदयका थिए ।
बिनु  श्रेष्ठ, आमा (सार्थक)

प्रस्तुति ः रामकला खड्का
प्रकाशित ः भदौ १३ ,अन्नपूर्ण पाेष्ट

No comments:

Post a Comment