Friday, September 18, 2015

किताबले कुरा बुझायो

नेपाली पत्रकारितामा मोहन मैनाली परिचित नाम हो । २०४६ देखि ‘दैनिक समाज’ पत्रिकाबाट पत्रकारिता सुरु गरेका मैनालीले नेपाल वातावरण पत्रकार समूहमा लामो समय काम गरे । यसमार्फत ‘आँखीझ्याल’ नामक भिडियो पत्रिकामा काम गर्दै कार्यकारी निर्मातासम्मको जिम्मेवारीमा रहेका मैनालीले त्यसपछि ‘स्पटलाइट’ नामक अंग्रेजी साप्ताहिकमा पनि काम गरे । लन्डनस्थित जेमिनी न्युज सर्भिस, हिमाल खबरपत्रिकालगायतका माध्यममा काम गर्दै उनले छापा र टेलिभिजन दुवैको अनुभव बटुलेका छन् । हाल उनी पानस साउथ एसियाले सञ्चालन गरेको न्युज पोर्टल साउथ एसिया चेक डट ओआरजीको सम्पादक हुन् । अंग्रेजी र नेपाली दुवैमा रहेको यस पोर्टलमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले बोलेका कुराको तथ्य परीक्षण गर्ने काम गरिन्छ । आफ्ना फिचर र वृत्तचित्रमार्फत देशविदेशमा ख्याति कमाउनुका साथै ‘उपल्लो थलो’ र ‘मान्ठा हराएको जुग’ पाठकमाझ ल्याइसकेका मैनालीले आफ्नो किताब यात्राका बारेमा अन्नपूर्णकर्मी रामकला खड्कासँग गरेको कुराकानी .....


अंग्रेजी सुधार्न जे भेटेँ त्यही पढ्थेँ 

 कहिलेकाहीँ साता पन्ध्र दिनसम्म पनि पढ्दिनँ, कहिले पेसागत कारणले गर्दा महिनामा चारपाँचवटा किताब नपढी सुखै पाइन्न । पढ्ने रहर त सानैदेखिको हो । तर विद्यालयमा हुँदा पाठ्यपुस्तकबाहेक अन्य धेरै किताब पढ्ने मौका पाइन्न थियो । तेह्रथुममा निमाविसम्म अन्य क्रियाकलाप त हुन्थे तर पुस्तकालय थिएन । हाइस्कुलमा पुस्तकालय बनाउने कोसिस भर्खर भएको थियो । त्यति बेला पुस्तकालयमा पाइने किताब विद्यार्थीका लागि काम लाग्ने थिएनन् । लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसंग्रह’ पनि विद्यालय तहमा नबुझिने रहेछ, महाकाव्य पनि त्यस्तै । मेची कलेजमा आईए पढ्न थालेपछि अंग्रेजी सुधार्ने कोसिसमा अंग्रेजीका जे जति किताब भेटे पनि पढ्न थालेँ । हामीभन्दा अघिल्लो पुस्ताले पढेका एसएलसीसम्मको कोर्समा पनि निकै राम्रा किताब रहेछन् । तेन्जिङ नोर्गेले लेखेका ‘सगरमाथा कसरी चढेँ’ भन्ने किताब पनि पढेँ । त्यसपछि पढाइमा रुचि बढ्दै गयो । जाँच दिएर नतिजा नआइन्जेलसम्म झन्डै आठनौ महिना कुर्नुपथ्र्यो । त्यति बेला म पहाड गएँ । हिउँदको बेला भएकाले त्यति काम पनि थिएन । त्यहाँ घरगाउँमा भेटेजति सबै पढेँ ।

ज्ञानमात्रै होइन, ग्राहक पनि बढायो


२०४२ साल भदौमा काठमाडौं आएँ । केही समय जागिर खोजेँ त केही समय भक्तपुरमा पढाएँ । यस्तो कामले हुँदैन भनेर एक वर्षपछि डिल्लीबजारको ओरालोमा शुभकामना पत्रपत्रिका केन्द्र खोलेँ । त्यति बेला दुईतीन वर्षसम्म त मेरो काम नै पढ्ने भयो । आफूले पढ्ने र आफूलाई राम्रो लागेको किताब अरूलाई बेच्ने गर्थें । चल्तीका र बेचल्तीका किताब पनि प्रायः सबै पढेँ । त्यति बेला पसल र कलेजको पुस्तकालयमा उपलब्ध नभएका किताबहरू भारतीय, अमेरिकन र ब्रिटिस काउन्सिलमा गएर पढ्थेँ । त्यसले मेरो ज्ञानमात्रै होइन, ग्राहक पनि बढायो । मैले ग्राहकलाई उनीहरूको रुचिअनुसारको किताब छानेर दिने हुनाले व्यापार बढायो । मैले आरके मैनाली, सीपी मैनाली, मोदनाथ प्र िश्रत र मञ्जुलका चारवटा गजबका किताबहरू पाँचपाँच हजार प्रति प्रकाशन गरेपछि २०४८ सालमा पसल बन्द गरेँ । अन्त नपाए प्रदर्शनी पर्खन्छु । म आफैं विदेश जाँदा त किताब ल्याउन्न । विदेशमा रहेका साथीहरूसँग आफूलाई चाहिने किताब मगाउँछु । यसरी अहिलेसम्म आठदसवटा किताब मगाएको छु । बाबरले कसरी आफ्नो बाल्यकालदेखि भारतसम्म जित्यो भन्नेबारेमा लेखिएको किताब ‘बाबुर नामा’ मलाई हरि शर्माजीले विदेशबाट ल्याइदिनुभएको थियो । त्यसैगरी पत्रकारिताको ‘द युनिभर्सल जर्नलिस्ट’ बीबीसी सेवाका जितेन्द्र राउतजीले र फ्रान्सिस फुकुवाको किताब किरणजीले ल्याइदिनुभएको थियो । प्रायः नेपालमै किन्छु । बरु किताब नपाए प्रदर्शनी पर्खन्छु । पोहोर साल नपाएको शेखर पाठकको ‘कैलाश मान सरोवर यात्रा’ यसपटकको प्रदर्शनीमा भेटेँ । प्रदर्शनीमा सस्तो नभए पनि अन्त नपाइने हुनाले मैले यसपालि बुक ट्रस्ट अफ इन्डियाको करिब २० वटा किताब किनेँ । एउटै किताबलाई तीन हजार रुपैयाँ बजेट छुट्याउने म त्यति व्यवस्थित मान्छे होइन । पसलेसँग दोस्ती भएकाले पैसा नभएको बेलामा पनि केही किताब लैजान पाइन्छ । आजभन्दा करिब १२ वर्षअगाडि टोनी ह्यागनको ‘बिल्डिङ ब्रिजेज टु थर्ड वल्र्ड’लाई तीन हजार रुपैयाँ हालेर किनेको थिएँ । चित्र धेरै भएकाले पनि किताब असाध्यै राम्रो छ ।

समाज बुझ्न पढ्नुपर्छ


पत्रकारितामा लागेपछि पढ्ने बानीले मात्रै होइन, बाध्य भएर नपढी नहुने भयो । मैले अलि बढी समय वातावरण पत्रकारितामा बिताएँ । वातावरणको कन्सेप्ट र त्यसभित्रको हरेक कुरा नबुझी कामै गर्न नसक्ने भएँ । पत्रकारिता गर्दै जाने क्रममा नेपालको करिब दुई तिहाइ भाग घुमेपछि समाज बुझ्न पढ्नुपर्ने रहेछ भन्ने महसुस भयो । त्यसैले स्नातकोत्तरमा समाजशास्त्र र मानवशास्त्र पढेँ । त्यसपछि घुमेर देखेर नबुझेका कुरा किताबले बुझाउन मद्दत ग¥यो । यसले गर्दा पत्रकारितामा पनि सजिलो भयो ।

दुइटै नपढी सुखै पाइन्न


मसँग करिब १२ सयजति किताब छन् । त्यसमा नेपाली, हिन्दी र अंग्रेजी सबै छन् । मेरा साथी हस्त गुरुङ भन्नुहुन्थ्यो, ‘नेपाल बुझ्नलाई तलतिर काशी पनि पढ्नुपर्छ, मास्तिर ल्हासा पनि बुझ्नुपर्छ । यो काशी र ल्हासा सभ्यताको प्रभाव परेको क्षेत्र हो ।’तिब्बती र चिनियाँ भाषा पनि जान्दिनँ । त्यसैले मास्तिरको जान्नलाई अंग्रेजीमा भर पर्नुप¥यो र तलतिरको बुझ्न अंग्रेजी र हिन्दीका किताब पढ्नुप¥यो । विधागत हिसाबले भन्ने हो भने पेसाका कारण बढी पढ्ने फिक्सन हो । त्यसबाट विषयवस्तु र सूचना थाहा पाइन्छ । त्यसैगरी लेख्ने शैली र लेखनको स्वाद थाहा पाउन नन फिक्सन पढ्नैपर्छ । त्यसैले दुइटै विधा नपढी सुख पाइन्न ।

कविता बुझ्ने तागत छैन


कवितामा धेरै रुचि छ तर रामा कविता बुझ्नसक्ने तागत मसँग छैन । कविले त राम्रा लेखेका हुन्छन् तर म कतिपय राम्रा कविता बुझ्दिनँ । यस्तो मलाई मात्रै हो कि अरूलाई पनि हुन्छ कुन्नि ?        धेरैजसो कविता किताबमा पढेर नबुझेपछि ममा कविता बुझ्ने केही पनि रहेनछ भन्ने लाग्छ । कवि वा अरू कसैले व्याख्या गर्दै वाचन गरेर सुनाइदिएपछि कविता त पढ्नेभन्दा पनि सुन्ने विधा पो रहेछ कि जस्तो लाग्यो मलाई । कविको क्षमता भरपूर उपयोग गरिएका कविताचाहिँ बुझ्न अलि गाह्रो लाग्छ ।

पढ्दा हाइलाइटर र कलम सँगै


कुनै किताब तीनचार चोटि पनि पढेको छु । कर्णालीका बारेमा बुझ्न ‘कर्णाली अन्डर स्ट्रेस’ पढेँ । यसले हिमाल र नेपाल बुझ्न मद्दत ग¥यो । दोहो¥याउँदा जुन चाहिने हो, त्यहीमात्रै पढ्छु । म पढ्दा हाइलाइटर र कलम लिएर बस्छु । मलाई कुनै कुरा स्वाद लाग्यो भने हाइलाइट गरेर किन स्वाद लाग्यो भनेर पनि लेख्छु । यसले गर्दा मलाई पछि चाहिएको बेलामा त्यसलाई उल्लेख गर्न सजिलो हुन्छ ।

खतराबाट सतर्क गराउन किताब


शक्तिका केन्द्रले आफ्नोवरिपरि अन्य स्रोतहरूलाई तानेर ल्याउँछ र तिनको शोषण गर्छन् । समाजका यस्ता कुराहरू बुझ्न सैद्धान्तिक विषयमा लेखिएका किताबले मद्दत पु¥याउँछ । किताबले कुनै पनि विषयमा छर्लंग पार्दै हामीलाई अन्धकारबाट उज्यालोमा लैजान मद्दत गर्छ । तिम्रो वरिपरि खतरा छ है भन्नेबारेमा सतर्क गराउनुका साथै तिम्रो जीवनलाई यी विभिन्न कुराले सरल बनाउँछ भन्नेबारेमा पनि किताबले नै बताउँछ । त्यसैगरी फिक्सनले हाम्रो सिर्जनशीलता बढाउँछ ।

भेटघाटमा किताबका कुरा


पढ्ने मान्छेसँग भेट हुँदा किताबका कुरा प्रायः निस्कन्छ । आआफ्ना चाखका विषयमा पनि कुरा हुन्छ । फलानो किताब त तैंले पढ्नैपर्छ भनेर कतिले सुझाउँछन् । अनौपचारिक भेटमा कुनै किताबलाई विवेचनात्मक ढंगमा हेर्ने पनि गरिन्छ । मलाई जे लागेको हुन्छ, अरूलाई अर्कै लागेको पनि हुनसक्छ ।

किताब किन्ने आधार


नेपालमा पुस्तक समीक्षा स्वतन्त्र प्रकारले गर्नेभन्दा पनि लेखक र प्रकाशकले भनेपछि वा साथीले भनेकाले गर्ने प्रचलन छ । त्यसैले पत्रपत्रिकामा प्रकाशित समीक्षा २५ प्रतिशतमात्रै सत्य हुन्छ । मैले किताब किन्दा समीक्षा पनि एउटा आधार हो भने अर्को किताबको अंश । किताबको अंश पढेर यो किताब यत्तिको रहेछ भनेर अनुमान लगाउन सकिन्छ । कहिलेकाहीँ किताब पल्टाएर हेर्दा रुचिका विषय भएमा पनि किनिन्छ । मैले जसरी पहिले अरूलाई मद्दत गर्थें, अहिले मलाई पुस्तक पसलेले सहयोग गर्छन् । कहिलेकाहीँ उनीहरूले यति हिम्मतका साथ मलाई यो किताब राखिदिएको छु भन्छन् कि नकिनी सुखै पाइन्न । तर, घर ल्याएर पढ्दा ती अति उपयोगी हुन्छन् ।

आत्मकथा पढ्दै


मैले एकपटक किताबका कुरा चल्दा पढ्न मन लागेको किताब बिल क्लिन्टनको बायोग्राफी भनेको थिएँ । मेरो कुरा सुनेर साथीले अमेरिकाबाट पठाइदिनुभएछ । किताबमा नलेखिएकाले को साथीले पठाए भनेर पत्ता लगाउन निकै गाह्रो प¥यो तर पछि पत्ता लगाएँ । अहिले हरिवंश राय बच्चनको आत्मकथा पढिरहेको छु । चार खण्डमा विभाजित यो पुस्तक खोज्न जाँदा पनि एउटा पसलमा दुई र चार खण्डमात्रै पाएँ । पछि अर्को ठाउँमा जाँदा एकदेखि चारसम्मको सेट भेटेँ । तर ती पसलेले तपार्इंलाई हो भने यो सेट फुटाएर दिइहाल्छु नि भने । अहिले मसँग सबै खण्ड छन् । अहिले पनि हिन्दीका केही किताब चाहिएकाले साथीलाई लिस्ट दिएर पठाएको छु ।

हराउनुभन्दा अरूले नपढे जाती


किताब मागेर लानेले फिर्ता नगरेपछि अचेल त कसैलाई दिए माया मारेरै दिने गरेको छु । किताब फिर्ता नगर्दा मैले पढेर चिह्न लगाएका महŒवपूर्ण कुरा पनि हराउने र पछि चाहियो भने पूरै किताब पढ्नुपर्ने हुँदा हत्ते गरेर माग्नेलाई किताब किनैरै दिन्छु । किताबै हराउनुभन्दा त्यसले नपढे नि जाति हुन्छ भनेर उसलाई पढ्न प्रेरित गर्न छाडिसकेँ । मैले पनि कुनै मागेर पढेको छु त कुनै फोटोकपी गरेर । सरदार रुद्रराज पाण्डेको ‘त्यस बखतको नेपाल’का चारवटै भोलम मसँग छ । त्यो सबै साथीसँगै मागेको हुँ । उसले अहिलेसम्म मागेको पनि छैन । यो निकै बहुमूल्य भएकाले अबचाहिँ मागे पनि दिन्नँ कि जस्तो लाग्छ ।

सबै विधा महत्वपूर्ण


१८८७ सालयता नेपालमा विद्रोह नै विद्रोह भएको छ । कहिलेकाहीँ यस्तै विषयमा लेखिएका सैद्धान्तिक किताब पढ्नुपर्छ । नेपालका ठूलाठूला योजना निर्माणमा बसेका व्यक्तिले विदेशका किताब पढ्दा यहाँ बनाइने योजना प्रभावकारी नहुन सक्छ । त्यसैले नेपालका बारेमा जानकारी दिने किताब पढ्नुपर्छ । त्यसैगरी सकिन्छ भने प्रयोग गरेका साहित्य पढ्नुपर्छ, सकिन्न भने सजिलैसँग बुझ्न सकिने र साहित्यको उपल्लो सिर्जना भएका किताब पढ्नुपर्छ । त्यसैले युवा पुस्ताले आख्यान, गैरआख्यान र मनोरञ्जनात्मक गरी सबै विधाका किताब पढ्नुपर्छ ।

एउटा लेख लेख्न २० किताब


मैले कुनै पनि फिचर र लेख लेख्दा कहिले धेरै पढ्ने गरेको छु भने कहिलेकाहीँ एउटै नपढी पनि लेखेको छु । एकपटक मैले बुद्धिजीवीका बारेमा एउटा विचार लेख्न करिब २० वटा किताबमा सम्बन्धित विषयका बारेमा पढेको थिएँ । जुन कुरा अरूले जानेको छ, त्योमात्रै लेखेर पुग्दैन भनेर मैले ती किताब र तिनमा भएका सम्बन्धित अंश पढेको थिएँ ।

२०७२ भदौ २६ मा अन्नपूर्ण पोष्टमा प्रकाशित

No comments:

Post a Comment